तीजसंगै चार सिनेमा हलमा

भदौ ८ _तीजको अवसर पारेर बिहिवार (आज) बाट चार नेपाली फिल्म हलमा प्रर्दशन भएका छन्। नेपालमा प्रत्येक हप्ताको शुक्रवार नयाँ फिल्म प्रर्दशन हुने गर्छ तर तीजलाई लक्षित गर्दै एक दिनअघि नै फिल्म प्रर्दशनमा आएका हुन्। ‘देश खोज्दै जाँदा’, ‘हामी शरणार्थी’, ‘धुम–२’ र ‘स्काउट’ प्रर्दशनमा आएका हुन्।

साहित्यकार प्रकाश आङ्देम्बेको पहिलो निर्देशकिय फिल्म ‘देश खोज्दै जाँदा’ भुटानी शरणार्थीको कथामाथि आधारित छ। फिल्ममार्फत नेपालीभाषी भुटानी शरणार्थीको वास्तविक भोगाईको कथा प्रस्तुत गरिएको फिल्मका निर्देशक आङ्देम्बेले बताए। फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, अरुणा कार्की, मीना कोइराला लगायत कलाकारले अभिनय गरेका छन्। श्रवण मुकारुङको शब्दमा फिल्मका लागि तयार भएको ‘छातीमा लागेको माटो’ बोलको मार्मिक गीत दर्शकले निकै रुचाएका छन्। गीतमा आभाषको संगीत र स्वरुपराज आचार्यको स्वर छ।

यसैगरी आजबाटै शरणार्थीको कथामाथि बनेको अर्को फिल्म ‘हामी शरणार्थी’ पनि रिलिज हुँदैछ। विजय लिम्बु केरुङले निर्देशन गरेको फिल्ममा अभिनेत्री शिल्पा पोखरेलले दुई सन्तानकी आमाको भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा जीवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ लगायत कलाकारको पनि अभिनय रहेको छ। फिल्ममा भुटानी शरणार्थीका दुःख र कष्टलाई प्रस्तुत गरेको निर्देशक केरुङले बताएका छन्।

हास्यकलाकार जयकिसन बस्नेतको निर्माण, निर्देशन, लेखन र नृत्य रहेको फिल्म ‘धुम–२’ पनि बिहिवारबाटै प्रर्दशनमा आएको छ। नारीप्रधान कथा भनिएको यो फिल्मले पुर्ण मनोरञ्जन दिने निर्देशक बस्नेतले दाबी गरेका छन्। फिल्ममा जयकिसन, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, शोभित बस्नेत लगायत कलाकारले अभिनय गरेका छन्।

मधुकुमार श्रेष्ठले निर्देशन गरेको फिल्म ‘स्काउट’ पनि हलमा प्रर्दशन भएको छ। बताइएअनुसार ‘स्काउट’ले गर्ने कामलाई फिल्मको कथावस्तु बनाइएको छ। फिल्ममा गरिमा पन्त, नवराज श्रेष्ठ, कुशल थापा, संजय श्रेष्ठ, रक्षा श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन्।

ताजा अपडेट