के सन्देश लिएर फर्कदैं छन् देउवा ?

काठमाडौं, भदौ ११ । भारतको पाँचदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री शेर बहादुर देउवा आज स्वदेश फर्कदैं छन् । प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट बेलुका ८ बजे स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सन्धीसम्झौताले भन्दा संयुक्त पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले चर्चा पायो । नेपाली कांग्रेसले प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धी मुलक भएको जनाएको छ भने नेकपा एमाललेले नेपालीको शीर झुकाउने काम भएको र आन्तरीक मामला छताछुल्ले पारेको टिप्पणी गरेको छ ।

काँग्रेस कावा सभापति विमलेन्द्र निधिले देउवाको भारत भ्रमण अत्यन्तै सफल भएको दावी गरेका छन् । आइतबार केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निधिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनेको दावी गरे ।

निधिले संविधानको सर्वस्विकार्यता बढाउने गरी प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति औचित्यपूर्ण, अत्यन्तै परिपक्व र सार्थक पहल भएको दावी गरिरहदा यता एमालेले भने विज्ञप्ती नै जारी गरेर संसदमा मतदान भएर विधिपूर्वक टुङ्गिइसकेको र असन्तुष्ट दलहरुले परिणाम स्वीकार गरेर निर्वाचनमा सहभागी हुन सहमत भइसकेको यथार्थलाई अवमूल्यन गर्दै संविधानको ‘स्वीकार्यता’को अनुचित विवाद उठाउनुले नेपालको संविधानप्रति स्वयं प्रधानमन्त्रीको निष्ठामाथि समेत प्रश्नचिह्न खडा गरेको एमालेको निष्कर्ष छ।

नेपालको संविधानको भारतले खुलेर स्वागत गरेको छैन । तर त्यही संविधानमा टेकेर भएको निर्वाचनलाई स्वागत गरेको छ । मधेस केन्द्रीत दलले पनि संविधान संशोधन हुनु पर्ने माग गरिरहेकाछन् । तर संयोग नै मान्नु पर्छ देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा संयुक्त पत्रकार सम्मेलन भएकै दिन राजपा नेपालले चुनावमा जाने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा आएसंगै केहि सम्झौता पनि विवादमा छन् । तत्कालिन राजा महेन्द्रले अस्विकार गरेको कोशीमा उच्चबाँध बनाउने विषयमा देउवाले स्वीकृत दिएको भन्दै यसको पनि आलोचना भएको छ । भारत र चीनबीच विवादीत बनेको डोकलमका विषयमा प्रधानमन्त्रीले भारतको समर्थन गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । यो विषयमा पनि प्रधानमन्त्रीले उपयुक्त निर्णय लिन नसकेका हुन् कि भन्ने विश्लेषण हुन थालेको छ ।

भ्रमणका क्रममा देउवाले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री शुष्मा स्वराज, कांग्रेस आईकी नेतृ सोनीया गान्धी लगायत उच्चअधिकारीहरुसँग भेटवार्ता गरे । भारतका उच्चअधिकारीसंगको भेटमा दिएको दवावले नै प्रधानमन्त्रीले सार्वजनिक रुपमा यस्तो अभिव्यक्ति दिएको विश्लेषकहरुको बुझाई छ ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितीमा नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा बुधवार भारत भ्रमणमा जानु भएको हो ।

ताजा अपडेट