जनतालाई गास र बासको पिरलो-नेतालाई संविधान संशोधनको !

केशव घिमिरे, काठमाडौं । प्रदेश नम्वर दुईको स्थानीय तहको निर्वाचनका लागि अब २० दिन बाँकी छ । चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरुले प्रचार–प्रसारलाई तीब्र बनाएका छन् । निर्वाचन आयोगले पनि सबै तहमा निर्वाचन कार्यालय खोलेर आवश्यक प्रबन्ध मिलाएको जनाएको छ ।
स्थानीय तहको निर्वाचन भएकाले स्थानीय समस्या समाधानको आश्वासन सहित भोट माग्नु स्वभाविक नै हो । यस्तै तराईं–मधेसको समग्र विकास र डुबानको समस्या समाधानका विषय एजेण्डा बन्नु पनि अस्वभाविक होइन ।
चुरे दोहन, मधेस डुबान सम्मका समस्या समाधानको वाचा, विकास निर्माणलाई गति दिएर समृद्ध गराउने आश्वासन पनि सबै दलहरुले जनतामाझ बाँड्ने नै छन् । बाढी र डुवानका पीडितलाई राहत र पुर्नस्थापनाको विषय पनि चुनावी नारा बनेको छ । तर मधेसका जनतासँग भोट माग्नका लागि दलहरुले मुख्य राजनीतिक मुद्दा संविधान संशोधनलाई नै बनाउने देखिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपालको मुख्य चुनावी एजेण्डा संविधान संशोधन नै रहेको छ । सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले चुनावमा संविधान संशोधनको विषयलाई मुख्य एजेण्डा बनाउने भएको छ । साता अघि मात्रै संसदबाट संशोधन अस्विकृत भएको अवस्थामा संविधान संशोधनको मुद्दा नमरिसकेको बताउँदै फेरि प्रयास गरेर संशोधन गरिछाड्ने वाचा मधेसका जनतामाझ गर्ने कांग्रेसको योजना रहेको नेता रमेश लेखकले बताउनुभयो
यस्तै सत्तारुढ नेकपा माओवादी केन्द्रले पनि नेपाली कांग्रेसले जस्तै संविधानलाई सर्वस्विकार्य बनाउन र मधेसका जनताको भावना अनुरुप संविधान संशोधनका लागि गरेको प्रयासलाई जनतामाझ स्पष्ट बताउने योजना बनाएको नेता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।
संविधान संशोधनलाई नै मुख्य मागको रुपमा उठाएर लामो आन्दोलन गरेको राष्ट्रिय जनता पार्टी नेपालले पनि हाललाई संसदबाट फेल भएपनि यो मुद्दा नछाडेको भन्दै भोट माग्ने भएको छ । चुनावलाई पनि आन्दोलनको रुपमा लिएको राजपाका शिर्ष नेता राजकिशोर यादवको भनाइ छ ।
तर यता प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि संविधान संशोधनको विपक्षमा उभिनुको कारण मधेसी जनतालाई बुझाउने रणनितीमा छ । संशोधन विधेयकका अन्तरवस्तु मधेसी जनता र समग्र राष्ट्रको हित विपरित भएकाले असफल पारेको भन्दै चुनाव पछि भोलीका दिनमा मधेसको समस्या समाधानका लागि आफुले पहल गर्ने कुरा मतदातालाई बुझाउने योजना रहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वागंले जानकारी दिनुभयो ।
सबै दलहरुको चुनावी प्रचार संविधान संशोधनमा आफुले खेलेको भुमिका प्रस्ट्याउनमै केन्द्रित हुने देखिन्छ । तर पहिलो र दास्रो चरणको स्थानीय तह निर्वाचनमा दलका एजेण्डा भन्दा पनि उम्मेद्वारको लोकप्रियताका आधारमा जनताले मत दिएको यर्थाथतालाई दलले विर्से भने घाटा आफैलाई हुने छ ।
बाढी र डुवानको पीडामा रहेका तराई क्षेत्रका जनताको अहिलेको प्राथमिकता भनेको गास र बास नै हो । तर दलहरुले अगाडी सारेको संविधान संशोधनको मुद्दामा उनीहरुको मन कत्तिको पग्लीन्छ यो भने चुनाव पछि नै थाहा लाग्ने छ ।

ताजा अपडेट