राजपासँग तालमेलको पर्खाइमा प्रमुख दल, राजपा भन्छ–धोका दिनेहरुसँग तालमेल हुदैन

काठमाडौं, भदौ १८ । प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको लागि उम्मेद्वार टुङ्ग्याउन दलहरुलाई सास्ती भएको छ । उम्मेदवारका आकांक्षी धेरै भएका कारण दैनिक जसो बैठक बसेपनि दलहरुले उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छनैन् । अर्को तर्फ तालमेल गर्ने दलहरुको टुंगो नलागेकाले पनि उम्मेदवार टुंग्याउन दलहरुलाई समस्या  भएको हो ।

नेपाली कांग्रेस
प्रमुख सत्तारुढ दल नेपाली कंग्रेसले असोज दुई गते हुने स्थानीय तह तेस्रो चरणको चुनावका लागि उम्मेदवारको नाम आज टुंगो लगाउने भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको बालुवाटारस्थित सरकारी निवासमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाउने र असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनको आगामी रणनीतिका बारेमा छलफल गर्ने बताइएको छ ।

गुटलाई लिएर कंग्रेसमा विवाद भएपछि उम्मेदवारको नाम अझै टुंगो लाग्न सकेको छैन । दुई नम्बर प्रदेश अन्तर्गतका केहि स्थानीय तह बाहेक अन्यमा करिब उम्मेदवार टुंगो लागिसकेको अनुशासन समितिका संयोजक समेत रहनु भएका नेता रमेश रिजालले बताउनुभयो । पदाधिकारी बैठकको छलफलपछि तेस्रो चरणमा निर्वाचन हुने सबै स्थानीय तहको उम्मेदवार आजै टुंगो लगाउने कंग्रेसको तयारी छ ।

नेकपा एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाँकी रहेको जनकपुर उप–महानगरपालिकाको उम्मेदवारको नाम आज टुंगो लगाउँदैछ । काठमाण्डौंको धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपरान्ह ४ बजे बस्ने स्थायी कमिटी बैठकले जनकपुर उपमहानगरको उम्मेदवारको नाम टुंगो लगाउने प्रचार विभाग प्रमुख समेत रहेका पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

यसअघि हिजो बसेको पार्टीको स्थायी कमिटी बैठकले बीरगंज महानगर, कलैया उपमहानर लगायतमा उम्मेदवारको नाम टुंगो लगाएर घोषणा गरेको थियो । जनकपुर उपमहानगरको उम्मेदवारको नाम टुंगो लागेसंगै एमालेले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवार टुंगो लगाइसक्नेछ ।

राजपा नेपाल
पहिलो पटक निर्वाचनमा सहभागी हुदै गरेको राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा मुख्य ३ दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारेको छ । मधेशको मागमा प्रमुख दल संधै उदासिन भएकाले निर्वाचनमा तालमेलले कुनै अर्थ नराख्ने राजपाले जनाएको छ ।

मधेश केन्द्रीत अन्य दलसंग भने चुनावी तालमेल गर्न सकिने राजपाका नेता मनिस कुमार सुमनले जानकारी दिनुभयो । संविधान संशोधन लगायतका मुद्धामा प्रमुख दलहरुले धोका दिएर राजपालाई अल्मल्याएको नेता सुमनले आरोप लगाउनुभयो ।

ताजा अपडेट